पूर्वी नेपालका धेरै जिल्लामा बिहीबारदेखि भइरहेको भारी वर्षाका कारण साना ठूला नदीमा पानीको सतह बढेको छ। जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टा पनि भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले नदी किनारा र पहिरोको जोखिम भएका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ। उद्धार टोली तयारी अवस्थामा राखिएको छ।

केही स्थानमा सडक अवरुद्ध भएको भए पनि सुरक्षाकर्मीले खोल्ने काम गरिरहेका छन्। यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।